सूचना आदान–प्रदानको शैली फेरियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन् ।
“गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो”, वादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शेरपुञ्जाले भने, “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”
इन्टरनेट भएपछि सस्तो र सजिलोरूपमा देश–विदेशमा रहेका आफन्त, साथीभाइसँग कुराकानी र सूचना आदान–प्रदान गर्न पाएको खड्काथोकीले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर चिठ्ठी पठाउने व्यक्ति एक महिनामा चिठ्ठीभन्दा पहिले घर आइपुग्ने अवस्था थियो”, उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”
वादुकका बासिन्दाले सामूहिकरूपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदान–प्रदानको शैली फेरिएको हो । स्वदेश तथा विदेशमा रहेका वादुकवासीले करिब रु आठ लाख जुटाएर इच्छुक ५० वटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताए ।
“वादुकका दुई–तीनवटा बाहेक सबै घरमा सामूहिकरूपमा इन्टरनेट जडान भएको छ”, उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।” वादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजाको अगुवाइमा ‘बेगखोला न्यूज’ नामको फेसबुक पेज सञ्चालन भएको छ ।
सो पेजमा बेगखोलामा हुने हरेक गतिविधिको सूचना राखिन्छ । कुनै विषयमा बहस र छलफल हुन्छ । विकास निर्माण र सामाजिक कामका लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचार–प्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।
वादुकमा इन्टरनेट जडानका लागि सङ्कलित रकममध्ये तार, राउटर र जडान खर्चबाट बचेको रु एक लाख ५० हजार कोषमा राखिएको छ । प्रतिघर रु दुई हजार आठ सय शुल्क तिरेर इन्टरनेट जडान गरेका थिए । मासिक रु सात सय ५० शुल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताए ।
समाचारका लागि सञ्चारमाध्यमको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया