आइतबार, वैशाख २७, २०८३

अशोकराज सिग्देल भदौ २४ पछि बन्लान् नेपाली सेनाको प्रधानसेनापति ?

उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस

मेरोन्यूज २०८० मंसिर ८ गते १९:०८

काठमाडौं । नेपाली सेनाको आगामी प्रधानसेनापति को बन्लान् ? भन्ने चर्चा केही समययता निक्कै चलेको थियो । हालका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकासमा जानेछन् ।

Advertisement
NiccNicc

त्यसपछिको प्रधानसेनापतिका बारेमा केही समय यता निक्कै चर्चा चलेको थियो । नेपाली सेनामा दुई जना रथी हुन्छन् । त्यही दुई जनाबाट प्रधानसेनापति बन्ने हुन्छन् । तर नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि एउटा रथी पद रिक्त छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएपछि त्यसमा पदपूर्ति हुन सकेको छैन।

त्यसपछि बाँकी रहेका हालका एक मात्र रथी सीताराम खड्का उमेर हदका कारण पुस ३ मा अनिवार्य अवकासमा जाँदै छन्। त्यसको १५ दिनअघि अनिवार्य विदामा बस्नुपर्छ। त्यसैले यही मंसिर १८ गतेभित्र पदपूर्ति हुन नसके दुवै रथी पद खाली हुने सम्भावना छ।

यसअघि रथीमा ताराध्वज पाण्डेको नाम सिफारिस भएको थियो । तर उनको जन्ममिति विवादमा परेपछि उनीमाथी सैनिक मुख्यालयले नै छानबिन आयोगसम्म पनि बनाएको थियो । आयोगले पनि उनको जन्ममिति विवाद देखाएपछि अन्ततः उनले पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेपछि अहिले नेपाली सेनामा उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्।

सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिग्देललाई सिफारिस गरेको थियो ।

सिग्देललाई बढुवा सिफारिस गदैं ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

सिग्देलविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सूचनामा भनिएको छ। यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापतिसमेत बन्न सक्नेछन्।

जन्ममिति विवादमा तानिएका ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको भोलिपल्टै सिग्देललाई रथी बढुवाको सिफारिस गरिएको हो।

सेनामा वरिष्ठ रथीले नै नेतृत्व पाउने गरेका छन्।

प्रतिक्रिया