आइतबार, वैशाख २७, २०८३

भरतमोहन अधिकारीकी छोरी रास्वपाको बनिन् केन्द्रीय कोषाध्यक्ष

मेरोन्यूज २०८० मंसिर १३ गते १९:२०

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्ष बनेकी छिन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न भएको रास्वपाको बैठकले लिमालाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय सर्वसम्मतले लिएको हो ।

Advertisement
NiccNicc

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक भएर समेत काम गरीसकेकी अधिकारीलाई रास्वपाले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य मात्र थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी थिइन् ।

छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।

आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य रहेकी लिमाले एमालेको उद्योग विभागमा पनि काम गरेको अनुभव संगालेकी थिइन् ।

एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

तर उनले त्यसपछि उक्त पार्टी छोडेर रास्वपा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया