आइतबार, वैशाख २७, २०८३

सरकारले छानबिन गर्न बनाएको उच्चस्तरीय समितिले आइतबारदेखि काम सुरु गर्ने

मेरोन्यूज २०८० मंसिर २३ गते २०:०३

काठमाडौं । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको आफनो शेयर खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएपछि सरकारले यस सम्वन्धमा छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिले आइतबार देखि औपचारिक रुपमा आफनो काम सुरु गर्ने भएको छ ।

Advertisement
NiccNicc

पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा सरकारले बिहीबार यसप्रकरणको समग्र विषयको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । समितिले आइतबारबाटै औपचारिक रुपमा काम सुरु गर्ने बताएको छ । समितिमा रहेका सबै सदस्यबीच अनौपचारिक कुराकानी भइसकेको र अब छानबिनको काम सुरु हुने उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए ।

समितिलाई ३० दिनको कार्यावधि दिइएको छ । यो समयभित्र काम सक्ने समितिको तयारी छ । एनसेलको ८० प्रतिशत सेयर रहेको आजियटाले आफ्नो स्वामित्व स्पेक्ट्रलाइट युके लिमिटेडलाई निकै कम मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्न खोजेपछि शंकास्पद मानेर सरकारले छानबिन गर्न लागेको हो ।

एनसेलले ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको भनेर विज्ञप्ति जारी गरिए पनि यो कारोबार कम्तीमा ६६ अर्ब ५० करोड (५०० मिलियन डलर) को भएको बताइएको छ । ६ वर्षअघि एक खर्ब ४३ अर्बमा ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा एनसेलले पुँजीगत लाभकर नतिर्ने चाल चलेको थियो । तर नेपालको कर कार्यालयले तोकेको करिब ६६ अर्ब कर नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय ट्रिबुनलबाट पनि अनुमोदन भइसकेको छ । अझ, यसपालि त कारोबार रकम नै कम्तीमा ९० प्रतिशत घटाइएको छ ।

यसअघि श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्सबाट एनसेलको २० प्रतिशत सेयर हात पारेका गैरआवासीय नेपाली सतीशलाल आचार्यले यसपालि थप ८० प्रतिशत सेयर लिने सम्झौता गरेका छन् । सिंगो एनसेल एकै परिवारको पकडमा परेपछि यसको आर्थिक स्रोत ढाकछोप गर्न मूल्य कम देखाउने खेल भएको देखिएको छ ।

प्रतिक्रिया