थमन विक हत्याकाण्ड प्रकरण
एमालेका निलम्बित सांसद कोइरीलाई सफाई, ७ जनालाई जन्मकैद
लोसपाका नेता तथा मधेस प्रदेशसभाका सांसद अभिराम शर्मालाई भने जन्मकैदको फैसला

काठमाडौं । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो।
कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।
न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ गरेर आज त्यस्तो फैसला सुनाएको हो ।
यो फैसला सँगै सांसद कोइरीलाई अब अदालतको फैसलाका आधारमा संसदमा जाने आउने गर्न पाउने भएका छन् । उनको निलम्बनको अवस्थाबाट पनि उनी मुत्तः हुनेछन् ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए।
तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद सजाय हुने गरी अदालतले फैसला सुनाएको छ ।
यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्।
अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन्। उनीहरू महोत्तरी ३९१० बाट निर्वाचित भएका हुन्।
रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्।
जिल्ला अदालत महोत्तरीकी स्रेस्तेदार नूतन झाका अनुसार, उनीहरूबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ।
१९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक ९असई० थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।
मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।
कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए।
जिल्ला अदालत महोत्तरीले कोइरीलाई ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार थिए।
प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी(१ बाट निर्वाचित भएका थिए।
उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।
महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी थिइन्।
















प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया