आइतबार, वैशाख २७, २०८३

सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश श्रेष्ठ

मेरोन्यूज २०८० पुष ७ गते २१:११

धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन् । नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए।

Advertisement
NiccNicc

सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरेका छन् । जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फ्रेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले एकअर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गरे । विशेष अदालत बारका अध्यक्ष अधिवक्ता चुडामणि पौडेलले नेपाल बार एशोसिएसन के गर्दैछ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक जरुरी रहेको बताए ।

‘स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी पेसागत मर्यादा’ भन्ने नाराका साथ उच्च अदालत बार एशोसिएसन पाटन, विशेष अदालत बार एशोसिएसन, काठमाडौँ जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, ललितपुर जिल्ला अदालत बार र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, उच्च अदालत बार पाटनका अध्यक्ष शान्तिराम खतिवडा, नेपाल बारका महिला समिति उपाध्यक्ष आशा राईलगायतले ‘६८ औँ बार डे’ सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया