शनिबार, वैशाख २६, २०८३

सूर्य दर्शन सहकारीका दुई जना जेल चलान, जिबीसहित १५ जना अझै फरार

मेरोन्यूज २०८० पुष १८ गते १८:३७

काठमाडौं । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल जेल चलान भएका छन् ।

Advertisement
NiccNicc

बुधबारको सुनुवाइपछि कास्की जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए।

उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश थापाको इजलासले अर्याल र गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्। उनीहरू पनि अहिले पुर्पक्षका लागि जेलमा छन्।

सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना अझै फरार छन्। उनीहरूले सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

हाल बन्द भएको भनिएको ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका सहकारीका पूर्वअध्यक्ष जिबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट मात्र कम्तीमा १० करोड रुपैयाँ गैरकानुनी रूपमा टेलिभिजनमा लगानी गरेको छानबिन प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया