रारामा ६ महिनामा ६ हजार बढी पर्यटक

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा ६ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन्।
रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन्।
निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको ६ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए। उनले आन्तरिक मात्रै छ हजार पाँच सय ५७ जना पर्यटक यहाँ आएका जानकारी दिए। दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो।
चालु आवको ६ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ।
गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए। कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ।
निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिए।
उनका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन्।
पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन्।
अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन्। भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन्।
यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको सङ्ख्या नघटेको घिमिरेले बताए। विगतमा वर्षभरी आएकाभन्दा बढी पर्यटक चालु वर्षको ६ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५र१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उनले बताए। हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो सङ्ख्या अझ बढ्ने निकुन्जले अनुमान गरेको छ।
यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिइन्। ‘यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन, उनले भनिन्।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया