बिहीबार, वैशाख २४, २०८३

चार भ्रष्टाचार मुद्दामा प्रधानाध्यापक दोषी ठहर, तीन वर्ष कैद सजाय

मेरोन्यूज २०८० माघ ७ गते १६:३३

काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

Advertisement
NiccNicc

विशेषले आइतबार एक भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरी तीन वर्ष कैदको सजाय पनि सुनाएको छ। यसअघि एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

अन्य मुद्दामा यसअघि नै सजाय निर्धारण भएको थियो। यो मुद्दामा मात्र ३ वर्षभन्दा माथि कैद सजाय हुने देखिएकाले सजाय निर्धारणका लागि पेसी तोकिएको थियो।

विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।

प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए। झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो। विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकमसमेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो।

त्यस्तै छात्रा शौचालयको रकमसमेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेको थियो। उनले विद्यालय व्यवस्थापन समितिकोसमेत नक्कली निर्णय बनाएको आरोप थियो।

प्रतिक्रिया