आइतबार, वैशाख २०, २०८३

यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना

मेरोन्यूज २०८० माघ २१ गते ६:५३

काठमाडाैँ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतबारबाट नेपालको धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको छ ।

Advertisement
NiccNicc

जल  तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेकाे छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको महाशाखाले बताएको छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले औंल्याएको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया