सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

कञ्चनपुर । डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् ।
दुई दशकदेखि उनले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका लागि झलारी बजार आउँजाउँ गर्दै आएका छन् । बस्तीसम्म पुग्ने सडक नहुँदा गोरेटो बाटोमा पैदल हिडदैँ उनले सामान बोक्नुपर्ने बाध्यता छ । “एक दिन सामान खरिद गर्नका लागि झलारी बजार पुग्छौँ”, विष्टले भने, “दोस्रो दिन पिठयूँमा भारी बोक्दै धारापानी क्षेत्रमा बास बस्नुपर्छ । तेस्रो दिन साँझ अवेर सामानको भारी बोकेर घर पुग्छौँ ।” कहिले आफैँ भारी बोक्ने गरेको उल्लेख गर्दै उनले सामान बढी लैजानु पर्ने भए भरियाको व्यवस्था गरी सामान ढुवानी गर्दै आएको बताए ।
“एक जना भरियाले नुन, तेल, चामल, चिनीलगायतको सामान २५ किलोदेखि ३० किलोसम्म बोक्न सक्छन्”, विष्टले भने, “ठाडो उकालो असहज बाटो हुँदा थोरै सामान बोक्ने गर्दछन् । सामान बोकेबापत प्रतिकिलो रु २० का दरले ज्याला दिनुपर्छ । बास बस्दा लाग्ने खर्चसँगै खानाको व्यवस्था ढुवानी गराउनेले तिर्नुपर्दछ ।” ढुवानीको रकम सामानमा जोडेर स्थानीय बासिन्दालाई महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
पिठयूँमा भारी बोक्दै पैदल हिँड्ने क्रम वर्षौंदेखि चल्दै आएको विष्टले बताए । उनका अनुसार हाल झलारी बजारदेखि धारापानीसम्म सडकको सहजताले सामान ढुवानीसँगै यात्रा गर्न सहज भएको भए पनि धारापानीबाट उत्तरतर्फ पहाड क्षेत्रमा सडक नहुँदा स्थानीय बासिन्दाले पैदल नै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ ।
विष्टजस्तै वारेगडा, एक्ले गडा, दोवाटो, फल्ले खर्क, असलाडी, जडेखोला, सिमलवण्ड, सल्येगडी, गैरीपातललगायतका बासिन्दाले सडक नहुँदा हैरानी खेप्दै आएका छन् ।
गाउँमा बिरामी भए डोको, स्ट्रेचरमा राखेर झलारीलगायत बजार पुराउनुपर्ने अवस्था रहेको प्रताप विष्टले बताए । “सुत्केरीलाई पनि बोकेरै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बर्थिङ सेन्टरमा ल्याउनुपर्छ”, उनले भने, “ज्यान जाने डर हुन्छ, बिरामीलाई अस्पताल पु¥याउन नपाउँदै ज्यान गएका पनि छन् ।”
गत वर्ष मात्रै बाढी आएको धारापानी खोलामा तर्ने क्रममा एक जना बालकले ज्यान गुमाउनुपरेको प्रतापले उल्लेख गरे ।
“खाद्यान्न, नुन, तेल, चिनी, लुगाकपडालगायत ल्याउनका लागि यहीँ बाटोको प्रयोग गर्नुपर्छ”, राजन खत्रीले भने, “बर्सातका बेला धारापानीलगायतका खोलामा पानीको बहाव उच्च हुन्छ । बाढी आएको खोला तर्नुपर्ने बाध्यता हुन्छ । कुन बेला खोलामा चिप्लिएर बग्ने हो पत्तो नै हुँदैन, वर्षौंदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका छौँ ।”
चुरे पर्वतमा हिँड्दै आएका परम्परागत बाटा पहिरोका कारण अवरुद्ध हुँदा घाँसका बोट समातेर भिरपाखामा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । “चुनावका बेला मात्रै गाउँगाउँमा सडक बनाउने अश्वासन बाँडिने गरेका छन्”, स्थानीय खत्रीले भने, “सडक बन्छ भन्ने आशमा मतदानमा सहभागी हुन्छौँ । चुनाव जितेर गएका बस्तीमा त्यसपछि अनुहारनै देखाउँदैनन् ।”
“बुबाबाजेले पिठयूँमै सामान बोकेर पाल्ने गरेका थिए”, अमरबहादुर बिष्टले भने, “हामीले पनि अहिलेको अवस्थामा पनि पिठयूँमै सामान बोकिरहेका छौँ । सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे पनि अहिलेसम्म अश्वासनबाहेक विकास आउन सकेको छैन ।”
यहाँको चुरे क्षेत्रमा बसोबास गर्ने गाउँका बासिन्दाले सहज सडक, खोलामा पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया