शुक्रबार, फागुन ८, २०८२

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

मेरोन्यूज २०८० माघ २५ गते १२:५६

धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।

करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल फर्कने गरेका छन्। उनले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेक हुन् ।

दश वर्षका लागि जमिन र घरभाडामा लिएर रु २५ लाखको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ”, उनले भने ।

यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर रु सात लाख लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक रु १५ हजारदेखि रु ३० हजारसम्म व्यापार गरिरहेका । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए ।

चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू राउतले पनि होटल सञ्चालन गर्नका लागि रु २० लाख खर्चेर पक्की घर बनाएका छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएका छन् ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानले पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवशाय थालेका छन् । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि रु १० लाखको लागतमा होटल व्यवशाय सुरु गरेका हुन्।

प्रतिक्रिया