अनुसन्धानकर्मीलाई झुक्याइरहेको बाँदर !

गण्डकी । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्यो। भलै वडाको त्यो निर्णय धेरै समय टिकेन।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो। महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना रद्द गर्न र रुख कटानको कार्य बन्द गर्न अनुरोध गर्यो।
वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो। बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो।
समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली काँग्रेस, गुल्मीले किसानलाई बाँदर लखेट्न काम लाग्ने गुलेली र मटेङ्ग्रा दिएको हो। हालै पर्वतको कुश्मा नगरपालिका–९ मा बाँदर धपाउन वडाध्यक्ष राम शर्मा लामिछानेसहित १५ जना स्थानीयवासी पालो बाँडेर खटिएको खबरले पनि धेरैको ध्यान खिच्यो।
यसरी नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतङ्क किन ज्यूँका त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल यसमा भुक्तभोगी नै छन्।
उनले बाँदर नियन्त्रणका लागि आफू गाउँपालिकाको नेतृत्वमा हुँदा गरेका पहल र प्रयासको फेहरिस्त नै सुनाए। ‘फिरन्ते जाति राउटेले बाँदरको सिकार गर्ने हुँदा उनीहरुलाई सल्यानबाट गाउँपालिकामा ल्याउने तयारी र बन्दोबस्तसमेत गरिसकेका थियौँ, पछि प्रशासनले रोक्यो’, गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार पोखरेलले भने, ‘राउटेलाई बाँदर सिकार र आहारविहार गर्न छुट भएकाले त्यसबाट बाँदरको संख्या घटाउनमा मद्दत पुग्ने हामीले सोचेका थियौँ।’
स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि आविष्कार गरेको बाँदर धपाउने बन्दुक पनि लगेर किसानलाई बाँडेको उनले बताए। ‘पछि गाउँकै किसान र युवालाई प्रविधि सिकाएर बाँदर धपाउने बन्दुक गाउँपालिकामै बनाउन र बाँदर प्रभावित किसानलाई वितरण गर्न थाल्यौँ’, पोखरेलले भने, ‘बन्दुक पड्काउँदा एक वर्षजति त बाँदर भागे, बालीनाली केही जोगियो, तर अहिले बन्दुकलाई पनि बाँदरले टेर्न छाडिसके।’
बाँदर धपाउन बोटविरुवा र बालीनाली छेउछाउ ब्याट्रीबाट चल्ने ठूल्ठूला कृतिम बाघ, सर्पसम्म राखेर हेरिएको उनले सुनाए। ‘बाँदरलाई बस्तीतिर छिर्न नदिन घाँसहरु पनि रोप्यौँ, अण्डाको गन्धले बाँदर आउँदैन भनेर अण्डा फुटाएर रुखमा पनि दलेर हेर्यौँ’, पोखरेलले भने, ‘सुने र थाहा भएजतिका उपाय लगाउँदा पनि बाँदर नियन्त्रणमा खास उपलब्धि हुन सकेन, बाँदरको रजगज चलेकै छ।’
बाँदरले बालीनाली खाइदिएर गाउँपालिकाका किसान हैरान परेपछि बाँदर विज्ञसहित वन विज्ञानका विद्यार्थीलाई नै गाउँमा बोलाएर बाँदरको चरित्र र आनीबानीबारे अध्ययनसमेत गरिएको उनले बताए। ‘पहिले बारी र पाखातिर मात्र चहार्ने बाँदर अहिले भान्छामै छिरेर कसौँडीको भातसमेत लगेर जान थाल्यो, घरमा महिला या बालबच्चा देख्यो भने त आक्रमण नै गर्न तम्सिन्छ’, पोखरेलले भने।
गण्डकी विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका इन्जिनीयर सागरराज पौडेलले ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि आफूहरु अनुसन्धानमा जुटेको बताए। उक्त केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बाँदर धपाउने बन्दुक पनि बनाइसकेको उनको भनाइ छ।
‘पिभिसी पाइप र कार्बाइडबाट बाँदर धपाउने बन्दुक बन्छ, तर अहिले बन्दुकको आवाजसँग पनि बाँदर तर्सन छोडेको किसानले बताउन थालेका छन्, यसमा पनि बाँदर अनुकूलन भइसकेको देखिन्छ’, इन्जिनियर पौडेलले भने, ‘बाँदर नियन्त्रणका लागि अपनाइएका कुनैपनि विधि र प्रविधि दीर्घकालीन हुन सकेका छैनन्।’
बाँदर तर्सेर भागोस् भनेर केन्द्रले बाघ, कुकुरलगायत जनावरको आवाजलाई ‘ड्रोन’बाट सुनाउन मिल्ने गरी प्रविधि र यन्त्र निर्माणको काम गरिरहेको उनले बताए। वैज्ञानिक डा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहित विश्वविद्यालयका इन्जिनीयर र प्राविधिक त्यसको अनुसन्धान तथा निर्माणका काममा तल्लिन छन्।

















‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया