शुक्रबार, फागुन ८, २०८२

आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय

मेरोन्यूज २०८० फागुन ५ गते १५:५४

बेलबारी (मोरङ) । बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य(विपीन)स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण बढ्दो पाइएपछि बेलबारी क्रिकेट क्लबले बेलबारी इन्डोर क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य(विपिन) ले बताए । उनका अनुसार जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब २५ किमी टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।

पर्याप्त आर्थिक अभावकाबीच बेलबारीमा एकेडेमी सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले बताए । यहाँस्थित भगवती माध्यमिक विद्यालयको पाँच कट्ठा जमिन भाडामा लिएर एकेडेमी निर्माण थालिएको उनले जानकारी दिए ।

स्थानीयस्तरमा क्रिकेटप्रेमीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै भविश्यमा आवाससहितको एकेडेमी सञ्चालनको लक्ष्य रहेको अध्यक्ष आचार्यले बताए । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकीरहेको अवस्थामा स्थानीय स्रोतसाधनबाट मात्र एकेडेमी सञ्चालन गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

जिल्लाभर जम्मा छ वटा क्रिकेट एकेडेमी रहेका छन् । सोमध्ये चार सदरमुकाम विराटनगरमा रहेका जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महोमद साद(बाबु) ले बताए । उहाँका अनुसार महानगबाहिर कटाहरी गाउँपालिका र बेलबारी नगरपालिकामा मात्र एकेडेमी छन् ।

सङ्घको आयोजनामा विराटनगरको वैजनाथपुरस्थित स्व गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा यही फागुन २२ गतेदेखि राष्ट्रिय टि–२० क्रिकेट पुरुष प्रतियोगिता हुने अध्यक्ष सादले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा सातवटै प्रदेशका एक/एक, तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

जिल्लाबाट हाल राष्ट्रिय टिममा ललितनारायण राजवंशी र अण्डर–१९ को उपकप्तानमा दिपेश कणेल सहभागी छन्। त्यसैगरी पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान पनि मोरङबाटै हुन् ।

प्रतिक्रिया