बुधबार, मंसिर १७, २०८२

कामपाका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

मेरोन्यूज २०८० फागुन १८ गते १३:०२

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ ।

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले राससलाई जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ ।

“औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।” अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनीन् , “यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।” औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ ।

अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ ।

प्रतिक्रिया