शुक्रबार, पुष १८, २०८२

जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुग्यो

मेरोन्यूज २०८० फागुन २० गते १८:०९

जनकपुरधाम । जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । आइतबार भएको दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ की ५८ वर्षीया देवकली साह छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी देवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइतेहरुमा ५० वर्षीय अम्बिका देवी झा, ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।

चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।

घटनापछि विहानैदेखि विन्धीको अवस्था तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया