पर्यटकीय गन्तव्य बन्दै थामचौर

ढोरपाटन (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।
पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।
गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताए।
थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल ९पिकनिक० बनाउन थालिएको उनले बताए । पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तरपट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब रू ४० लाख बढी लगानी भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए। मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत यहाँ पुग्न थालेका उनको भनाइ छ ।
अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताए । आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उनले जानकारी दिए ।
“थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ । हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ”, अध्यक्ष अधिकारीले भने, “यहाँ धेरै मानिस वनभोजका लागि आउने हुँदा खानेपानीको समस्या छ, यसको समाधानका लागि अहिले काम भइरहेको छ ।” वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उनले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताए । चालू आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि रू २० लाख विनियोजन गरेको छ ।
बडिगाड–७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताउनुभयो । खास गरी नयाँ वर्ष, होली पर्व (पूर्णिमा) का बेला पर्यटकले थामचौर भरिभराउ हुने उनको भनाइ छ ।
यहाँबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुङ्गा, तम्घास बजार, प्यूठान लगायतका ठाउँ एकै पटक देख्न सकिने गुरुङले बताए । धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उनको भनाइ छ ।
“थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ । यसअघि यहाँ सडकको समस्या भएपछि अहिले सडक स्तरोन्नति भएको छ । सडक व्यवस्थित भएपछि पर्यटक बढेका छन्”, गुरुङले भने, “अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक लोभिन्छन् । केही वर्ष यता पूर्वधार थपिने क्रममा छन् । अहिले बिदा तथा विभिन्न पर्वमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।”















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया