शुक्रबार, वैशाख २५, २०८३

बाबुराम भट्टराईले भने- म लज्जित छु

मेरोन्यूज २०८१ जेठ ८ गते १९:५१


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा आफू निकै लज्जित भएको बताएका छन् ।

Advertisement
NiccNicc

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नाटकीय ढंगले पक्राउ गरेको भन्दै भट्टराईले प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले ज्ञानेन्द्रपथको अनुशरण गरेको बताएका हुन् ।

सिरोहिता पक्राउ परेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले २०५८ सालमा दरबार हत्याकाण्डसम्बन्धी आफ्नो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीलाई पक्राउ गरेको स्मरण गर्दै अहिले आफू ज्ञानेन्द्रको ठाउँमा हुँदा तिनै सिरोहियालाई पक्राउ गरेको आरोप लगाए ।

उनले यसो लेखेका छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ ‘यु सुड नट ओन्लि बि गुड, यु सुड एप्पियर टु बि गुड’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन । झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे वापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’

प्रतिक्रिया