मंगलबार, वैशाख २२, २०८३

नेता र कार्यकर्ता आदर्शपात्रका रुपमा स्थापित हुनुपर्छः महासचिव पोखरेल

मेरोन्यूज २०८१ असार २ गते २२:०२

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
NiccNicc

एमाले बागमती प्रदेश कमिटीले आज च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी तथा जनसङ्गठनका पदाधिकारीसहितको शपथ ग्रहण समारोहका अवसरमा उनले जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने विषय उचित नभएको बताएका छन् ।

महासचिव पोखरेलले एमाले अहिले पनि चुनौतीको बीचमा रहेको भन्दै चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको नेता जनताको बीचमा जाने क्रम घटेको बताए ।

“हामी जनताको बीचमा जान छाडेका छौँ, जसको कारण पार्टीको जनतासँगको सम्बन्ध टुटेको छ”, उनले भने, “जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुन्छ । जनतासँग जाने कुरालाई बाक्लो गराउनुपर्दछ ।” महासचिव पोखरेलले नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको बताए । उनले युवालाई राजनीतिमा नल्याएसम्म पार्टीको भविष्य सुरक्षित नहुने तर्क गरे ।

महासचिव पोखरेलले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको समेत बताए । उनले नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठूलो पैसा भारत लैजाने गरेको बताउए । उनले देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने भन्दै विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने भनाइ छ ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीका नेताहरुले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताए । उनले पार्टीका नेताले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया