थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।
राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताए।
राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए ।
प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिए ।
थाइल्याण्डमा कार्यभार सम्हाल्नुभएका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उनको कार्यकालको सफलताको कामना गरे ।

















Twenty-two passengers injured in bus accident
नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
भद्रपुरमा आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रतिक्रिया