बुधबार, पुष ९, २०८२

त्रिशुली नदिमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्य गोलाघाटसम्म गरिने

मेरोन्यूज २०८१ असार ३० गते ९:०५

त्रिशुली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजीकार्य गर्नेछ ।

त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरुको प्रयोग गरी घटनास्थलदेखी १ किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजीकार्य गर्नेछ ।

त्यसैगरी नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म ¥याफ्टिङ बोट र नदि किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भएको छ । अविरल वर्षाको कारण नदिमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाईसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको बताईएको छ ।

यि डिभाईसहरुले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजीकार्यको लागि प्रयोग गरिन्छ । असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो ।

खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुलि नदिमा खसेको थियो ।

प्रतिक्रिया