शनिबार, चैत ७, २०८२

गर्मीले तनहुँमा ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढे

मेरोन्यूज २०८१ असार ३१ गते १२:२५

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उपचारमा आउनेमध्ये रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षायाम र खेती लगाउने समय भएकाले एक सातादेखि बिरामीको सङ्ख्या घटेको छ, तर उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रुघाखोकीको समस्या देखिएको छ”, डा बरालले भने “अन्य समयमा चार सयभन्दा बढी बिरामी आउने गर्दछन् ।”

मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा बरालले जानकारी दिए ।

अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् ।

मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुन कम्तिमा एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने अस्पतालका सूचना अधिकारी एवं डा कमल भण्डारीले जानकारी दिए । जिल्लामा पछिल्ला समय डेङ्गुका बिरामी देखिएका छैनन्”, उनले भने, “लामखुट्टेको टोकाइबाट बच्न सतर्कतासँगै सरसफाइमा ध्यान दिनुपर्छ । पानी जम्ने खाल्डाखुल्डी घर वरपर नराख्ने, नियमित झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिन्छ ।”

जिल्लाका अन्य मेडिकल तथा निजी क्लिनिकमा पनि भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप बढ्दै गएको जनाइएको छ ।

प्रतिक्रिया