म्याग्दीमा खोपारा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् ।
प्रदेश सरकारको रु १३ लाख, गाउँपालिका र युएनडिपीको रु १२/१२ लाख बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।
पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर दुई सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुङ्गा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए । खानेपानी भण्डारण गर्न पाँचवटा ट्याङ्की राखिएको छ ।
पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ । लाकुशेको मुहानमा ट्याङ्की बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको हो । युएनडिपी र अन्नपूर्ण गाउँपालिकाको साझेदारीको कार्यक्रममार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ । दुई सय ३६ मिटर ढुङ्गाको सिँढी, सात सय ९८ मिटर माटो काटेको पदमार्ग र दुई ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटीले बताए । राते र सुनौलोमा एक÷एकवटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ ।
खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ । समुन्द्री सतहदेखि तीन हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।
सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइँ र यात्राअवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तब्य बनाउने उद्देश्यअनुसार पूर्वाधार विस्तार गरिएको अन्नपूर्ण–५ का वडाअध्यक्ष राजेश तिलिजा पुनले बताए । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापभित्र) पर्छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग रहेका छन् । खोपारामा रहेको ६० जना क्षमताको लज समुदायले सञ्चालन गरेका हुन् ।
सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन खोपारामा सुरु गरिएको सामुदायिक लजलाई पछिल्लो समय पर्यटन सहकारी संस्थामार्फत सञ्चालन गरिएको छ । खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनका अनुसार पूर्वाधार नहुँदा र पर्यटक नआउँदा खोपारा स्थानीयवासीको भैँसी गोठमा सीमित थियो ।
गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । खोपाराको प्राकृतिक सौन्दर्यले यात्राको थकान र दुःख बिर्साउने पर्यटकरुको अनुभव छ ।
पाउद्वारवासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा रु एक करोड ६० लाखभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन् । जङ्गल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवङ्गत भएका आफन्तको सम्झनामा १० किलोमिटरभन्दा बढी पदमार्ग, एक सयवटा चौतारी, तीनवटा धर्मशाला र १० ठाउँमा पानीका धारा बनाएका छन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया