कर्ममा रमाउँदै प्रसाईं

सुन्दरबजार । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसाईंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।
विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नुपर्नेछ । लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उनले दिएक छन् । अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ । “आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ”, प्रसाईं भन्छन् ।
राइनास नगरपालिका–५, तीनपिप्लेमा कृषि कर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उनले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् । जङ्गल र बुट्यानले ढाकिएको जग्गा एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उनले ५० लाख रुपैयाँजति खर्च गरेका छन् ।
अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र १२ लाख आम्दानी गरेका प्रसाईंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाएको छ । धानपछि उनले खर्बुजा खेती गर्छन् । खरबुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उनले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उनको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उनले भने ।
लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उनको भनाइ छ । राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उनी भन्छन् ।
विगत १८ वर्षदेखि राईनासमा आएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खरबुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आएको छ । हेर्दा नै लोभ लाग्ने उनको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाउँछन् ।
आफ्नै कृषि कर्ममा हेरचाह गर्दै निरन्तर लागिरहेका प्रसाईंले स्थानीय तहबाट कुनै किसिमको सहयोग प्राप्त गरेका छैनन् । कृषि ज्ञान केन्द्रले सिँचाइका लागि पाइपलाइन, मल्चिङ प्लाष्टिक र मलखादका लागि यस वर्ष चार लाख बराबरको सहयोग गरेको छ ।
कृषि फार्ममा बङ्गुरपालन गरेका प्रसाईंले गत वर्ष रोगका कारण बङ्गुर मरेपछि अहिले त्यसलाई थाति राखेको छ । त्यहाँ उनले उत्पादन गरेको अकबरे खुर्सानी, खर्बुजा र अन्य मौसमी तरकारी उत्पादनका लागि नियमित पाँच जनालाई रोजगारी दिएको छ । त्यसबाहेक दैनिक ज्यालादारीमा समेत काम दिने गरेका छन् ।
केही गरौँ भन्ने उत्साह भएका युवालाई कृषिमा ठूलो लगानी गरेको सरकारी तवरबाट सानो सहयोग दिने हो भने युवालाई यही विदेशकै जस्तो कमाई गर्न सकिन्छ भन्ने उनबाट बुझ्न सकिन्छ । स्थानीय तहहरुले विभिन्न शीर्षकमा बर्सेनि अनुत्पादक क्षेत्रमा बाँडिरहेका लाखौँ रुपैयाँको प्रतिफल आउन नसकेको भन्दै उनी त्यसलाई कृषि क्षेत्रमा लगाउन सकिएमा तरकारी र फलफूलमा आत्मनिर्भर हुन सकिने बताउँछन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया