बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु : दुई नर्स निलम्बित

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।
अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।
‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टामुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर यकिन गरिएको थियो । सोपश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,’ उनले भने ।
बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।
अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको बताए । यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
पौडेलले भने, ‘काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने छौँ ।’









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया