बिहीबार, चैत १९, २०८२

सेतीको बाढीले निग्माको बिचल्ली

मेरोन्यूज २०८१ साउन १९ गते १०:२४

लेखनाथ । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै थिइन् । उनको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर छन् ।  

Advertisement
nepal life insurencenepal life insurence

“छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भनिन्, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौ, अब छोरीबाहेक मेरो केही रहेन ।”

सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९  परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् । 

“पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, शेर्पाले भनिन्, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन । बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ । वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भनिन्, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ?” 
    
प्रेम विवाह गरेकी निग्माले भनिन्, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुपर्यो । ।” 

धादिङबाट पोखरा आएर बसेकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आएका छन् ।  

“बिहान बेलुकाको खाना विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयको हो,” उनले भनिन्, “त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन ।” 

जग्गा पाइहाले पनि घर बनाउन सक्ने उनको अवस्था छैन । 

शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँचजनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ ।

प्रतिक्रिया