तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।
भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए। “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उनले भने, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”
कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।
नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनले जानकारी दिए। नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् ।
नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।
लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताए । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उनले बताए ।
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया