पासपोर्ट थन्काएर कृषिमा रमाउँदै शर्मा दम्पती (भिडियाे)
म्याग्दी(बेनी)। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्मालाई विदेश जाने सोच नआएको पनि होइन् । गाउँका साथिभाइहरु रोजगारको लागि विदेश जान थालेपछि शर्माले पनि राहदानी बनाएका थिए । तर जब विदेश पुगेका साथिहरुले प्रवासमा पनि पैसा कमाउने संघर्षको दुख सुनाए तब शर्माले पनि विदेश जान बनाएको राहदानी बाकसमा थन्काएर स्वदेशमै आत्मनिर्भर बन्न कृषि पेशालाई अंगालेका थिए ।
पौरखी किसान शर्माले व्यवसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । कुनै समय विदेश जान राहदानी समेत बनाएका किसान शर्मा अहिले भने गाउँका अन्य युवाहरुमाझ समेत जिविकोपार्जन र घरखर्च चलाउनकै लागि विदेश पलायन हुनुपर्दैन भन्ने उदाहरण बनेका छन् । विदेश गएकाहरुले समेत पैसा कमाउन सहज नभएको खवर सुनाउँदा कृषक शर्मा स्वदेशमै घरपरिवारसंग बसेर आफ्नै गाउँठाउँमा खेतवारीमा पसिना बगाएर आत्मनिर्भर बन्न पाउँदा खुसी छन् ।
बुबा आमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उनको श्रीमती सीता शर्मा अहिले गाउँपालिकाकै अगुवा र सफल किसानको रुपमा परिचित छन्। खेतबारीमा तरकारी फलाउने र बिक्रि गर्ने दैनिकी अंगाल्नुभएका शर्मा दम्पती कृषि पेशाबाट सन्तुष्ट छन् । स्वदेशमा माटोमा पसिना बगाएर तरकारी फलाउन र पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका शर्मा दम्पती रोजगारका लागि विदेश पलायन नै हुनपर्छ पछिल्लो प्रचलनलाई चिर्न सफल भएका छन् ।
शर्माले अहिले मिलनचोकमा आफ्नै र म्याग्दीको बेनी नगरपालिका–१ लामाबगरमा पाँच रोपनी भाडाको जग्गा समेत गरेर १२ रोपनी क्षेत्रफलमा तरकारी लगाएका छन् । हिउँदका समयमा १५ रोपनी सम्ममा तरकारी लगाउने उनले बताए । तरकारी खेतीबाट बार्षिक रु ९ लाख सम्म विक्रि गर्ने र खर्च कटाएर ७ लाखसम्म नगद आम्दानी हुने उनको अनुभुती छ ।
हरेक विहान देखि अवेर शर्मा दम्पत्ती तरकारी खेतीको काममा व्यवस्त हुन्छन् । ३८ वर्षीय दीपकले कृषि पेशामा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने अनुभव सुनाए । लामाबगर स्थित करिब ७ रोपनी खेत वार्षिक रुपमा एकलाख २० हजार रकम बुझाउने गरी जग्गा भाडामा लिनुभएका शर्मा दम्पत्तीले काँक्रो,सिमी,बोडी,भेन्टी,लौका,करेला,घिरौला, र खुर्सानी लगायतका बेमौसमी तरकारी फलाएका छन् । उत्पादन भएको ताजा तरकारी लिन बेनीका व्यवसायीहरु घरमै आउने भएकाले बजारको अभाब नभएको उनको भनाई छ ।
कृषि पेशामा धेरै दुःख पनि छ,कमाई पनि छ । आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुसी र गौरबको अनुभुति हुने उनको भनाई छ । कृषि पेशाबाट भएको आम्दानीले शर्मा परिवारले सजिलै घरखर्च चलाएका छन् । घरमै कृषि पेशा गर्दा परिवार छुटिएर र टाढीएर बस्नुपर्ने अवस्था नआउने भएकाले आफुहरुले यहि पेसालाई निरन्तरता दिने दिपकको श्रीमती सीताको भनाई छ ।
तरकारी बिक्रीको रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च,औषधि उपचार र छरछिमेकलाई समस्या पर्दा सरसापट दिन सक्ने र केही रकम बचत समेत गर्ने समेत शर्मा दम्पती सफल भएका छन् । विभिन्न समयमा सरकारी निकायबाट पाउने तालिम र अनुदानले उनीहरुलाई कृषि पेशामा थप सक्रिय भएर लाग्न हौसला दिने गरेको छ ।
आफूले अंगालेको कृषि पेशा छोरा बुहारीले निरन्तरता दिएर बुढसकालको साहरा बनेकोमा शर्माका बुबा आमा पनि खुसी छन् । छोरा दिपकले आफ्ना आमा बुबाले गरेकै कृषि पेसालाई व्यावसायिक र आधुनिकीकरण गरेका छन् ।
छोराबुहारीले उन्नत तवरले गरेको कृषि खेतीले आफुहरुलाई सन्तोष मिलेको आमा भद्रकली शर्मा बताउँछन् ।
युवाहरु रोजगारका लागि विदेश पलायन हुने क्रमले गाउँघरमा कतिपय घरहरुमा बृद्धबृद्धाहरु एक्लै बस्नुपर्ने बाध्यता आएको समयमा पौरखी शर्माको परिवारभने खुसीसाथ एकसाथ आत्मनिर्भरका साथ बसेका छन् ।
छोरा बुहारीले खेतवारीमा खेतिको काम गर्ने र बृद्ध आमा बुबा घरधन्दाको काम गर्ने शर्मा परिवारको दैनिकी रहरलाग्दो छ । तरकारी खेतीबाट भएको आम्दानीले शर्मा परिवारको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।












काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया