बुधबार, वैशाख १६, २०८३

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

मेरोन्यूज २०८१ साउन २६ गते १९:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ।

Advertisement
NiccNicc

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ।

यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो। अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए।

अध्यक्षले राखेको धारणाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेको प्रवक्ता सापकोटाले जानकारी दिए।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए।

बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए।

पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ। बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ।

प्रतिक्रिया