गण्डकीमा एक हजार तीन सय ६९ जनामा डेङ्गु पुष्टि, एक जनाकाे मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उनले बताए ।
तनहुँपछि कास्की डेङ्गुबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्कअनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए । यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताए ।
असारयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेङ्गुको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ । गत जनवरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने बताउनुभयो । उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रुपमा फेलिएको बताए । “समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ”, उनले भने, “डेङ्गुलाई सामान्य रूपले नसोचौँ, यसले ज्यानैसमेत लिएका घटना हामीकहाँ छन् ।”
डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । उनले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
गत वर्ष कास्कीमा मात्र तीन हजार ६९ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ जना थिए । सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरू गरेका छन्।
पोखरा महानगरपालिकाभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य संस्था र निकायले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरेका छन् ।
महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्न आग्रह गरिएको छ ।
डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने स्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए । “डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उनले भने ,“डेङ्गुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरू गर्न सबैमा हाम्रो आग्रह छ ।”
डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया