सोमबार, वैशाख २१, २०८३

गोसाइँकुण्डमा भक्तजनको घुइँचो

मेरोन्यूज २०८१ भदौ ३ गते ८:२२

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

Advertisement
NiccNicc

जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताए। तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताए।

लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए।

तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ । यस्तै यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ ।

कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताए।

प्रतिक्रिया