थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

कञ्चनपुर । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन ।
धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए । उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ ।
यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ । गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताए ।
“पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन”, उनले भने, “पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।” गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्दछन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ ।
तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन् ।
शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसङ्केतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ । पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताए ।
उनका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ ।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया