बिहीबार, फागुन १४, २०८२

विपदबाट बच्न कृत्रिम अभ्यास

मेरोन्यूज २०८१ असोज २१ गते २१:३९

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटको तल्लो बजार सिमसार क्षेत्रमा आज सोमबार विपद प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायको संयुक्त सहभागितामा कृत्रिम अभ्यास गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त अभ्यासमा परालको छानो भएको घरमा आगो लगाएको थियो । आगलागी भएको सूचना जिल्ला प्रशासनमा प्राप्त भयो र प्रशासनले विपद व्यवस्थापन टोली खटाइ घटनास्थलमा पुगेर आगो निभाएको छ ।

अभ्यास कृत्रिम भए पनि वास्तविक झैँ गरी प्रदर्शन गरेको थियो । आगलागीमा परी घर जलेका महिलाले आगो निभाउने क्रममा घाइते भएको र विपद व्यवस्थापन टोलीले तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाएको अभ्यास गरेको थियो । आगलागीको कृत्रिम घटना गराइ निभाउन पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेकका सेनानी प्रतीकसिंह राठौरले बताए ।

हुम्लामा सबैभन्दा बढी विपदका घटनामध्ये आगलागी भइरहने हुँदा यसबाट बच्न पूर्वअभ्यास गरेको सेनानी राठौरको भनाइ छ ।  आगलागीका घटना हुन नदिन र यदी भइहालेमा कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न पूर्वतयारीस्वरुप सुरक्षा निकायले पूर्वअभ्यास गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

विपदका घटना जतिखेर पनि आइपर्ने भएकाले पूर्वतयारीका लागि सुरक्षाकर्मीले गरेका अभ्यास सकारात्मक भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । आज सोमबार भएको कृत्रिम अभ्यासमा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया