शुक्रबार, वैशाख २५, २०८३

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

मेरोन्यूज २०८१ असोज २५ गते १७:५७

तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्छ। तर, हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ।

Advertisement
NiccNicc

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए। उक्त मन्दिर सोही वडामा पर्दछ। उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए। वडा अध्यक्ष राजभण्डारीले भने, ‘यसपटक तिथी फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो। आज मखन टोलसम्म मात्र छ।’

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ। कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत् दिने चलन छ। तलेजु भवानीमा मात्र नभइ आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

वडाअध्यक्ष राजभण्डारीले भने,’अरु बेला पनि नित्य पूजा भइराख्छ। तर आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ। आज महिसाषुरको वध गरेको दिन भनिन्छ, त्यसैले बली पनि दिने गरिएको हो।’

उक्त मन्दिर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म खोलिन्छ। दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए।

प्रतिक्रिया