मंगलबार, चैत ३, २०८२

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

मेरोन्यूज २०८१ कार्तिक ४ गते ११:०४

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए। “साउनयता मासिक लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ”, उनले भने। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब रु तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०÷८१ को तीन महिनाको अवधिमा भने रु ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् रु ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् रु १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया