मंगलबार, वैशाख २२, २०८३

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

मेरोन्यूज २०८१ कार्तिक १३ गते १६:२९

काठमाडौँ । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

Advertisement
NiccNicc

मङ्गलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए।

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए । उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताए।

सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे।

उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन ।

गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।

गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ ।

मङ्गलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतङ्कवादीको मृत्यु भएको जनाएको छ ।

नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ ।

प्रतिक्रिया