मंगलबार, चैत ३, २०८२

यस वर्ष भाइ मसलाको मूल्य ३० प्रतिशतले बढ्यो

मेरोन्यूज २०८१ कार्तिक १६ गते १७:२२

काठमाडौं । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौंको असनमा वर्षौंदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गतवर्ष भन्दा यसवर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन्।

भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए।

उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइ मसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए। मूल्य बढेकाले यस पटक भाइ मसला किन्नेहरूले पनि थोरै सामानहरू खरिद गर्ने गरेको पाइएको छ ।

व्यापारी बज्राचार्यले भने, ‘पोहोरसाल भन्दा यसपाली यो ड्राईफुड मसला करिब ३० पर्सेन्टले महंगिएको छ। कारण के होला? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो। त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले भाउ महंगिएको मैले महशुस गरेको छु। साथै यसमा कर तिर्नुपर्यो। यसले गर्दा यसपाली मसलाको भाउ निकै महंगो छ पोहोरसालको तुलनामा।’

यता, ग्राहकहरूले पनि यस वर्ष भाइ मसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूले भाइ मसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरेका छन्।
ग्राहकको भनाई छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ। व्यापारीहरूले मिलाएर दिनुभए ग्राहकहरूलाई सजिलो हुने थियो।’

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ। त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार, दालचिनी ८०० मूल्य राखिएको छ।

तर सबै सामग्रीमा करिब २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ। मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन्।

भाइ मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरूको चहलपहल पनि कम भएको स्थानीय व्यापारीले बताएका छन्।

प्रतिक्रिया