मंगलबार, चैत ३, २०८२

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

मेरोन्यूज २०८१ कार्तिक २७ गते १४:२६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे ।

“नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोँच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,” उनले भने ।

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नु पर्ने बताए ।

“हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नु परेको थियो, तर अहिले त्यो क्षेत्र समृद्ध छ, स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ” उनले थपे ।

आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको दाबी गरे ।

उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्यांकन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे । “हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरु परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्‍यौँ, कुन कुन आयोजना सुरु गर्‍यौँ वा कुन कुन आयोजना सम्पन्न गर्‍यौँ, त्यसले नै हाम्रो सफलता वा असफलताको संकेत गर्नेछ । त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,” उनले भने ।

मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया