मंगलबार, चैत ३, २०८२

खुकुरी रमले सीमित कास्क श्रृङ्खलाको सुरुवात गर्दै

मेरोन्यूज २०८१ मंसिर १० गते १४:५५

काठमाडौँ । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरीज [NDPL] ले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यो विशेष रम केवल ५२ सय ओटा विशिष्ट सङ्ख्या अङ्कित बोतलहरू मात्र उत्पादन भएको कम्पनीले जनाएकाे छ। 

कम्पनीका अनुसार सीमित उत्पादन हुने रममध्ये १६ सय बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ। यो प्रिमियम रम नेपाली बजारमा १० हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानलमार्फत् बिक्री गरिनेछ।

“कास्क रम बनाउने कला एक लगनशील यात्रा हो जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुन्छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

कम्पनीका अनुसार यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरूमार्फत् रूपान्तरण गरिन्छन् जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुनेछ। 

“यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो जुन प्रिमियम मदिराहरूको एजिंगका लागि प्रयोग गरिन्छ,” कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, “यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।”

कम्पनीका अनुसार स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्दछ। विशेष रूपमा चारिंग (भित्रबाट डढाएका) कास्कहरूमा गरिने अद्वितीय एजिंग प्रक्रियाले यसको परिष्कृत र गाढा स्वादहरूको सिर्जना गर्दछ।

विशेषगरी यस संस्करणका लागि मात्र प्रयोग गरिएको चारिंग प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद प्रदान गरेको कम्पनीले जनाएको छ । 

यस प्रक्रियाले रमलाई पनि स्मोकी, हल्का जलेको काठ र सूक्ष्म मसलाहरूको सुगन्धले यस रमलाई अति विशेष बनाउने उत्पादकको दावी छ। 

कम्पनीका अनुसार कास्कलाई टोस्ट र चारिंग गरिएकाले यसमा स्मोकी र वुडी स्वादहरू अनुभव गर्न सकिन्छ जबकि सटीक तापक्रम र आर्द्रता नियन्त्रणले एजिंग प्रक्रियालाई अनुकूल बनाउँछ। सटीक एजिंग प्रक्रियाले प्रत्येक घुट्कोमा केही असाधारण स्वाद समेत प्रदान गर्दछ। 

“यी सबैको परिणाम भनेको हरेक पारखीले प्राप्त गर्ने अद्वितीय स्वाद हो जुन खुकुरी कास्क शृङ्खलामा प्रयुक्त शिल्पकारिता र समर्पणको प्रमाण पनि हो,” कम्पनीले भनेको छ, “यद्यपि, कास्क शृङ्खलाका भावी संस्करणहरूमा अन्य कास्क एवम् प्रक्रियाहरू समावेश हुने छ।” 

“रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ। यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो”, सिइओ रमेश कृष्णनले भने।

“यो विरासतको आनन्द विश्वभरीका रम पारखीले लिन सक्ने छन्। हाम्रो लिमिटेड एडिसन कास्क सिरिज रम मार्फत् हामीले नेपालको उत्कृष्ट शिल्पकलालाई विश्वव्यापी मञ्चमा दृढताका साथ प्रस्तुत गर्ने लक्ष्य राखेका छौं। हामी सबैलाई उत्कृष्ट रम मात्र नभई समृद्ध हिमाली संस्कृतिको स्वाद लिन समेत निमन्त्रणा गर्दछौँ”, उनले थपे। 

अनावरण अघि नेपाल डिस्टिलरीजले आयोजना गरेको समाजका प्रतिष्ठित व्यक्तित्व र सरोकारवालाहरूका लागि आकर्षक कार्यक्रमहरूको एक श्रृंखलामा डिस्टिलरीको भ्रमण, हेरिटेज संग्रहालयमा व्यक्तिगत भ्रमणहरू र व्यक्तिगत टेस्ट सेसनहरू समावेश थिए। 

प्रतिक्रिया