रामजानकी विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती

महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन भारतको अयोध्याबाट ५०० जन्ती नेपाल आइपुगेका छन् । ती जन्तीलाई गएराति महोत्तरी मटिहानीमा स्वागत गरिएको छ ।
मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । स्वागतमा मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी पनि सहभागी थिए ।
यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन् ।
मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउँछन् ।
अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए । सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।
जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन् । मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।
जन्तीको तालिका
आज मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ । मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।
जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन् ।
सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ । महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् ।
यसैगरी तेस्रो दिन धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ ।
यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् ।
रामकलेवा जन्ती बिदाइ गरिने विधि हो । यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ । अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मंसिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया