सोमबार, चैत २, २०८२

स्याङ्जामा वार्षिक ५ करोडसम्म सुन्तलाको कारोबार

मेरोन्यूज २०८१ मंसिर २३ गते १५:४७

वालिङ (स्याङ्जा)। यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक पाँच करोडसम्मको करोबार हुने उनले जानकारी दिए ।

“आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भने, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष पाँच करोडको कारोबार हुने अनुमान छ ।” गतवर्ष चार करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गरे ।

सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित छन् । उनले ८० रोपनी क्षेत्रफलमा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका छन् ।

व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छन् । “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उनले भने, “आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।”

सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उनले बताए । गत वर्ष कामदारलाई १७ लाख पारिश्रमिक भुक्तान गरेको उनले जानकारी दिए ।

यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गरेका छन् । नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उनको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उनले जानकारी दिए ।

प्रतिक्रिया