आइतबार, वैशाख १३, २०८३

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

मेरोन्यूज २०८१ मंसिर ३० गते २०:१८

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन्। आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गरे।

Advertisement
NiccNicc

उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा छ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाए। उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले तीन सय ६३ मत पाइन्।

महासचिव पदमा आशिष गुरागाईं पाँच सय ६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी रामचन्द्र दुलालले पाँच सय नौ मत पाए। उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाए। समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी भएका छन्। उनले छ सय १९ मत पाए भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गरे।  

कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाएका छन्।

यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भएका छन्। महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भए।

दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी भएका छन्। मधेशी  र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भएका छन्।

महासङ्घको उपत्यका प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन्। 

प्रतिक्रिया