सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ

गलेश्वर (म्याग्दी) । गुजुमुज्ज ढुङ्गे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने यही कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ ।
पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यस गाउँमा हाल ४३ घर परिवारको मात्रै बसोबास रहेको स्थानीय तबहादुर छन्त्यालले बताउनुभयो । तीन वर्षअघि सडक सञ्जाल जोडिएर साना सवारीसाधन गुड्न थालेसँगै गाउँ रित्तिन थालेको हो । “मोटरबाटो त आयो तर, मोटर चढेर गाउँ आउने भन्दा गाउँ छाडेर बसाइँ सर्ने बढे”, रघुगंगा गाउँपालिका–८ का वडासदस्य अगेन्द्र छन्त्यालले भन्नुभयो, “बसाइँसराइका कारण गाउँ युवाविहीन भएको छ ।”
कुइने टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालका अनुसार गाउँमा सडक आए पनि विकासका अरु पूर्वाधार नहुँदा सुविधाको खोजीमा गाउँ छाडेर बसाइँ जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । गाउँमा मोटरबाटो आएपछि सदरमुकाम बेनी जान दिनभर पैदल हिँड्नुपर्ने बाध्यता हटेपनि अरु समस्या उस्तै छ ।
“मोटर चढेर बेनी पुग्न एक हजार दुई सय भाडा लाग्छ । बाटो राम्रो छैन । खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका सुविधाबाट हामी वञ्चित छौँ”, उहाँले भन्नुभयो । भौगोलिक विकटताले गर्दा एक गाउँबाट अर्को गाउँ जान दिनभर पैदल यात्रा गर्नुपर्छ । विकट गाउँबस्तीका कारण यस वडाको सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा छ । अधिकांशले छोराछोरीको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउने गरेका छन् । वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय विद्यार्थीविहीन हुन थालेको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर कक्षा पाँच सम्म मात्रै पठनपाठन गराउन थालिएको छ ।
केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीयले लघु जलविद्युत्बाट विद्युत् उपभोग गर्दै आएका थिए । त्यो पनि बाढी पहिरोले निरन्तर क्षति पु¥याएपछि हैरानी बेहोर्नुपरेको छ । कुइनेटो परेको खर्कमा तामाखानी भएकाले यस ठाउँको नाम कुइनेखानी रहन गएको बूढापाकाहरुको भनाइ छ ।
खानी खन्ने क्रममा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको स्थानीय ७८ वर्षीय टेकबहादुर छन्त्यालले बताउनुभयो । खानी खन्ने काम बन्द भएपछि यहाँ बसोबास घट्दै गएको उहाँको भनाइ छ । हाल यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।
आर्थिक रुपले सम्पन्नहरु बेनी, पोखरा, बुटवल, दाङ, भैरहवा लगायतका ठाउँमा बसाइँ गएका छन् । यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्तीमा हाल सडक सञ्जाल जोडिएको छ । स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ । तर पनि यहाँका अधिकांश विदेश पलायन भएका छन् । बस्तीमा मान्छे बस्न छाडेपछि गाउँका धेरै घरमा ताला लगाइएको छ ।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया