कलाकार बन्न अनेकाैं हण्डर खाएका हेमराज अधिकारी ‘खन्ट्या खलास’
त्यसदिन उनलाई आफु कलाकार बन्नुपर्छ, टीभीमा आए मात्रै कलाकारको मान्यता पाइन्छ भन्ने आभास भयो

काठमाडाैं। हास्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास उपनामले चर्चित छन् । टेलि श्रृंखला भद्रगोल मा आवद्ध उनी सामाजिक सञ्जालमा पनि लाेकप्रिय छन् ।
कलाकार बन्ने आफ्नाे सपना पुरा गर्न हेमराजले निकै संघर्ष गर्नुपर्याे । अनेकाैं बाधा अवरोधकाे सामना गर्दै पहिचान बनाएका उनले यतिबेला टिकटकमा पनि चर्चा बटुलिरहेका छन् ।
टिभीमा सिरियल हेरेर कलाकारितामा प्रवेश
हेमराज वि.स. २०५५ सालमा अछाममा जन्मिए । द्वन्द्वकालमा उनको परिवार अछामबाट कैलाली झर्याे । त्यसबेला उनी मात्र ४–५ वर्षका थिए । घर नै छाडेर हिँड्नु परेपछि नयाँ ठाउँमा बस्न सजिलो थिएन । कहिले मामा घर, कहिले अंकलको घर बसेर उनकाे परिवारले गुजारा चलाइरहेकाे थियाे । कामको खोजीमा भारत पसेका उनका बुबाले जेनतेन घर जग्गा जोडे । चार भाइबहिनीमध्ये हेमराज माइलो हुन् ।
हेमराज स्कुलदेखी नै कलाकारको क्यारिकेचर गर्थे । उनलाई पढाइमा भने खासै रुची थिएन । ‘पढ्न खासै मन पर्दैनथ्यो, क्यारिकेचर गर्न पाए खुसि लाग्थ्यो’ उनले भने । गाउँमा त्यो बेला सबैको घरमा टीभीको पहुँच थिएन । सिमित व्यक्तिहरुको घरमा मात्र हुन्थ्यो । उनी दिनभरी काम गरेर राती टिभी हेर्न छिमेकीकोमा जान्थे । त्यतिबेला टिभीमा मेरी बास्सै, तीतो सत्य जस्ता सिरियल निकै लोकप्रिय थिए । सिरियलमा देखिने कलाकारहरु देखेर उनमा आफु पनि कुनै दिन टिभीमा देखिन पाए भन्ने रहर जाग्थ्यो ।
स्कुलमा हुने विभिन्न कार्यक्रममा भाग लिएर हेमराज आफ्नो कला देखाउँथे । तर, त्यतिले पनि उनलाई नपुगेको आभास हुन्थ्यो । उनको घर नजिकै खप्तड साँस्कृतिक परिवार नामक संस्था थियो । उनले त्यो संस्थामा जोडिने मौका पाए । आफ्नो कलाकारिताको जग नै यस संस्थालाई मान्छन् उनी ।
हेमराजलाई मेला महोत्सवमा पनि आफ्नो कला देखाउन रहर जाग्यो । तर, सोचे जस्तो कहाँ सजिलो भइदिन्छ र ? शिखरको बाटो हिंड्न त्यति सजिलो पनि हुँदैन । स्थानीय कलाकारलाई हेर्ने दृष्टिकोण उनले सोचेजस्तो थिएन । उनलाई यति बजे आउनु भनेर समय दिइएको हुन्थ्यो । हजारौं दर्शकमाझ प्रस्तुती दिन पाउने कुराले उनी प्रफुल्लित हुन्थे । तर, उनी त्यहाँ पुग्दासम्म दर्शकको भिड हराइसकेको हुन्थ्यो । ८–१० जना मात्रै देखिन्थे । स्टेज तलैबाट उनले आफ्नो प्रतिभा देखाउँथे । यो सिलसिला केही समयसम्म चलिरह्यो ।
एकपटक महोत्सवमा मेरी बास्सैका कलाकार धुर्मुस सुन्तली र माग्ने बुढा प्रस्तुती दिन आएका थिए । ‘मलाई उहाँसँग फोटो खिच्न र कलाकारितामा आउन सहयोग माग्न मन थियो, स्टेज जान खोज्दा गार्डले धकेले, आयोजकले पनि जान दिएनन् ।’ उनले दुखेसो पोखे । त्यसदिन उनलाई आफु कलाकार बन्नुपर्छ, टीभीमा आए मात्रै कलाकारको मान्यता पाइन्छ भन्ने आभास भयो ।

कलाकार बन्न काठमाडौंसम्मको यात्रा, अनेकौं हण्डर झेले
त्यसपछि हेमराज कलाकार बन्न काठमाडौं आए । तर, उनले सोचेजस्तो सजिलो थिएन यहाँ । अरु बेला मछु आइजा भन्ने साथी अहिले उनलाई वास्ता नै गरिरहेका थिएनन् । ‘एक दाजु पर्ने कहाँ बस्न थालेँ ।’ उनी भन्छन् ‘घरबाट चामल र दालमात्र ल्याएको थिएँ, पैसा पठाउने अवस्था पनि थिएन घरको ।’ एक महिनामै उनले ल्याएको दाल चामल सकियो । त्यसपछि उनलाई दाइकोमा बस्न असहज महसुस हुन थाल्यो । र, गाउँ फर्किए ।
गाउँमा पनि कलाकार बन्न गएको फर्किएर आयो भन्दै छिमेकीले खिसि गर्न थालेपछि हेमराज भारत गए । त्यहाँ पनि ४० दिन बसेर फर्किए । कलाकार बन्ने मोह मनमा छँदै थियो । कलाकारिताको आगो निभेको थिएन । उनी फेरी काठमाडौं छिरे । त्यसबेला काेटेश्वरमा एकै कोठामा ४–५ जना साथीहरु मिलेर बसेको उनी सुनाउँछन् ।
कोठामा यत्तिकै बसेर हुँदैन भनेर उनी जागिर खोज्न हिँडे । तर, काम पाउन निकै गाह्राे भएकाे उनले बताए । ‘बल्लतल्ल बागबजारको एउटा होटलमा काम पाएँ’ उनले भने । काम थियो, ग्राहकले रक्सि वियर खाएका भाँडा उठाएर माझ्ने । घरमा यस्तो काम गरेको थाहा पाए गाली खाने डरले उनले होटलको म्यानेजर हुँ भनेर झुट बोलेका थिए । ‘काम थालेको १०–१५ दिन भएको थियो, रुम जाँदा राती अबेर भयो । घरबेटीले डिस्टर्ब भयो भन्दै राती नै आएर गालीगलौज गरे । त्यसको भोलीपल्टै म रुम छोडेर फेरी घर गएँ’ हेमराजले भने ।
गाउँमा उनको कुरा काट्ने सिलसिला रोकिएन । २ महिनापछि दाजु भाउजुसँगै उनी फेरी राजधानी आए । ‘त्यो बेला चाहीँ आफ्नै कोठा भाडामा लियाैं’ उनले भने ।
यसैबीच हेमराजले केहि नेपाली सिरियलका लागि नयाँ कलाकार खोजी भइरहेको फेसबुकमा पोष्ट देखे । ‘त्यहाँ दिइएको नम्बरमा सम्पर्क गरें । सिफलमा भेट्न बोलाइयो ।’ हेमराजले भने ‘उहाँले फिल्म बनाउँदैछौं, कलाकार बन्ने भएपछि ६–७ हजार रुपैयाँ लाग्छ भन्नुभयो, ६ हजार रुपैंयाँमा कुरा मिलायौं ।’ फिल्मको सुटिङ भयाे । के कारणले हो खै, त्यो फिल्म भने अहिलेसम्म रिलिज भएन ’ उनले भने ।
त्यही फिल्मकै डबिङको क्रममा हर्के हवल्दारको विष्णु सापकोटासँग उनकाे भेट भएको थियो । ‘उहाँले नम्बर दिइराख कतै चाहिएपछि खबर गर्छु भन्नुभएको थियो । केहि समयपछि हर्के हवल्दारकै लागि कलाकार चाहियो भन्दै फोन गर्नुभयाे’ उनले भने ।
भोलीपल्ट बिहान सुटिङमा बोलाएपछि हेमराजको खुसीको सिमा नै रहेन । कतिबेला बिहान होला भन्दै कुर्दै उनले रात बिताए ।
हेमराज बिहानै सबेरै सुटिङ हुने स्थानमा पुगे । सिरियलमा उनको सिन थियो, कलाकार गइरहेको हेर्ने । ‘केहि नजान्नेलाई प्राथमिकता दिएर १०/१२ टेक दिइन्थ्यो, मेरो भने पालै आउँदैनथ्यो’ उनले संघर्षका दिन सम्झिए । उनलाई दिक्कै लाग्यो ।
त्यसै रात हेमराजले कलाकार हेर्ने काम त नगर्ने भन्दै त्यो काम छोडिदिए ।

यसैबीच जिग्री–पाँडेको भद्रगोल केही विवादका कारण कलाकार शंकर आचार्यले चलाइरहेको थाहा पाएपछि उनलाई म्यासेज गरेको हेमराज बताउँछन् । ‘म्यासेज गरेको चार दिनपछि जवाफ आयो ।’ उनले भने ‘भिडियो पठाउन भनेपछि आफ्नो पश्चिमको क्यारेक्टरको भिडियो पठाएँ । त्यसपछि उहाँले बिहान ५ बजे भेट्न बोलाउनु भयो ।’
आचार्यले सुटिङका लागि एक हप्तापछि कोटेश्वर आउनु भन्दै पठाएको हेमराज बताउँछन् । लोकप्रिय सिरियलमा अभिनय गर्न पाउने खुसिले उनी सुत्नै सकेनन् । ‘उहाँले बोलाउनु भएको दिन १ घण्टा अगाडि नै त्यहाँ पुगेँ, त्यसपछि गाडी आयो, गाडीमा नाम चलेका केही कलाकारहरु हुनुहुन्थ्यो । अलि नर्भस भएर अलग्गै बसें’ उनले भने ।
यसरी नाम जुर्याे ‘खन्ट्या खलास’
सुटिङमा अभिनय थालेपछि उनको क्यारेक्टरको नाम के राख्ने भन्ने प्रश्न उठ्यो । ‘नाम के राख्ने अब भन्ने भएपछि खप्तड परिवारका नवराज सरलाई पश्चिमका ठट्यौली शब्द के होलान् भन्दै सोधेँ, उहाँले २–४ वटा शब्द पठाउनुभयो, त्यसैमध्येमा थियो, खन्ट्या खलास’ उनले भने । सिरियलकै कलाकार यादव देवकोटा ‘सरापे’ लाई यो नाम देखाएपछि उनले हुन्छ भने । हेमराजले सुरुमा नेताको क्यारेक्टर पाएका थिए । ‘सुटिङ सकेर राति रुम फर्किएँ, यो मेरो जिन्दगीको सबैभन्दा खुसिको पल थियो’ उनले सम्झिँदै भने ।

सामाजिक सञ्जालमा लोकप्रिय हेमराज
त्यही समय नेपालमा टिकटक लोकप्रिय बन्दै गइरहेको थियो । हेमराजले पनि कहिलेकाहीँ लिप्सिङ गरेर भिडियो टिकटकमा पोष्ट्याउने गरेका थिए । तर, खासै लाइक भने पाउँदैनथे । भद्रगोल सिरियलकै क्यारेक्टरको पोसाकमा भिडियो बनाएर राखेपछि अवस्था फेरिएको उनले सम्झिए । ‘पहिले १–२ सय लाइक बल्लतल्ल आउँथ्यो । एकदिन सिरियलकै क्यारेक्टरको कपडा लगाएर कोरोनासम्बन्धी भिडियो बनाएर पोष्ट गरेँ । बिहान हेर्दा १५ सय लाइक पुगेको थियो’ उनले भने । त्यसपछि उनी दिनदिनै पश्चिमेली भाषामा समसामयिक विषयमा भिडियो बनाउन थाले । यसले सिरियलमा पनि उनका दर्शक बढ्दै गए ।
अहिले हेमराजको टिकटकमा २ लाख १५ हजारभन्दा बढी फलोअर्स छन् । उनका अधिकांश भिडियो भाइरल भइरहेका हुन्छन् । विशेषगरी उनी समसामयिक विषयमा भिडियो बनाउँछन् । गाउँका समस्या र बेतिथिबारे पश्चिमेली भाषामा गीत, सायरीको माध्यमबाट पोख्ने उनको शैलीका धेरै दिवाना छन् ।
खन्ट्या खलासले अहिलेसम्म नेपाली सिरियलका ९० प्रतिशत कलाकारसँग काम गरिसकेका छन् । यतिबेला मेला महोत्सवमा पनि उनको माग बढ्दो छ ।

प्रतिक्रिया