बिहीबार, वैशाख २४, २०८३

झापामा लागुऔषध कारोबारमा संलग्न २ सय १३ जना पक्राउ

मेरोन्यूज २०८१ माघ ९ गते १०:४१

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

Advertisement
NiccNicc

पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ ।

लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताए। “सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार देखियो”, उनले भने, “लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया