आइतबार, वैशाख १३, २०८३

टीकापुरकाे वीरेन्द्र विद्या मन्दिर माविमा सुविधा सम्पन्न पुस्तकालय बन्ने

मेरोन्यूज २०८१ माघ १३ गते १२:०९

टीकापुर। विभिन्न समयमा टीकापुर र टीकापुर वरपरका क्षेत्रमा सामाजिक एवं मानविय कार्य र परियोजना गरिरहेको टीकापुर सरोकार समुहले वीरेन्द्र विद्या मन्दिर माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न पुस्तकालय , इलेक्ट्रोनिक लाइब्रेरी (e- Library) सहित स्थापना गर्ने भएको छ ।

Advertisement
NiccNicc

विद्यालय सुधारको एउटा महत्वपूर्ण प्रस्थानविन्दु पुस्तकालय कार्यक्रम हो भन्ने लागेको र सरोकारवाला एवं विज्ञहरुले समेत पुस्तकालय आधुनिकीकरणले विद्यार्थीहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने राय दिएकाले यस विद्यालयमा अत्याधुनिक पुस्तकालय निर्माण गर्न थालिएको समुहले एक विज्ञप्ति जारी गरी बताएकाे छ ।

पुस्तकालयमा पाठ्यक्रमका सहित सयौं महत्त्वपूर्ण पुस्तकहरु, १० हजार भन्दाबढी ई पुस्तक, कम्प्युटरहरु, त्यसका सहायक सफ्टवेयर र अन्य उपकरणहरु, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरु लगायतका सुविधाहरू स्थापित /जडान गरिने बताइएकाे छ।

उक्त अत्याधुनिक पुस्तकालय टीकापुर सरोकार समूहको संयोजन, नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा सम्पन्न हुने छ।

पुस्तकालय विस्तार तथा आधुनिकिकरणका लागि प्रथम चरणमा डा. सुधीर रुपारेलिया, रुपारेलिया फाउन्डेसन, युगान्डा, अफ्रिकाले अमेरिकी डलर ५००० ( नेरु ६८०,०००), मिनबहादुर रावलले रु ४ लाख र गगन फाउन्डेसन, टीकापुरले रु . एक लाख सहयोग गरेकाे समुहका सचिव नवराज भट्टराईले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

सहयोगी डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतिनिक वाणिज्य दूत हुन् । उनी युगाण्डाको सबैभन्दा ठूलो औद्याेगिक एवं ब्यापारिक प्रतिष्ठान रुपारेलिया ग्रुपका अध्यक्ष हुन्।

यस्तै मीनबहादुर रावल टीकापुर नगर तथा वीरेन्द्र विद्या मन्दिर स्थापनामा योगदान दिने प्रमुख ब्याक्तित्व मध्य एक हुन् । टीकापुर विकास समितीका पुर्व योजना प्रमुख रावल विद्वान, सामाजिक चिन्तक तथा कुशल योजनाविद तथा व्यवस्थापक हुन् ।

गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिठी’, ‘अस्ताचलको ढोकाबाट’ लगायत ९ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् ।

प्रतिक्रिया