माघ सकिनै लाग्दा न हिउँ न वर्षा, चिन्तामा किसान

गण्डकी । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन। जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ। पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ।
गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताए। ‘हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ’, उनले भने, ‘मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ।’
मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उनको भनाइ छ। पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ। मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुने खतरा रहेको बताइन्छ। पछिल्लो समय मुस्ताङको उपल्लो भेगमा समेत काँक्रा, गोलभेँडा जस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको किसान बताउँछन्।
समयमा हिउँ र वर्षा नहुँदा खेतीबाली नसप्रने किसानको दुःखेसो छ। मुस्ताङमा हावा मात्र चल्ने हिउँ नपर्ने अवस्था देखिएको छ। गत वर्षको हिउँद पनि हिउँ र वर्षा नभई बितेको थियो। हिउँ नपर्दा सिँचाइ नभएका ठाउँमा अन्नपात माटोमै सुक्ने गरेको कृषि अधिकृत नेपालीले बताए ।
। घरपझोङ गाउँपालिका–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने बताएका छन् । स्याउको फूल खेल्न र फल लाग्न चिसोपनाको खाँचो पर्छ।
‘चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ’, उनले भने, ‘मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन।’ जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने सुक्खा मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ। थासाङमा सिँचाइको उचित प्रबन्ध छैन। हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ।
लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो। हिउँमा खुल्ने मुस्ताङ, मनाङ, म्याग्दीलगायत पर्यटकीयस्थल पनि उजाड देखिएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुलीले पुनले अहिलेसम्म हिउँ नपरेको बताए।
गण्डकी प्रदेशका कुनै हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन। छिटपुट वर्षासमेत हुन सकेको छैन। हिउँ र वर्षा नहुँदा मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको छ। बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्ने गरेको छ।
बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो। हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनको भनाइ छ। खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ। हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन्।
विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन्। पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ। ‘विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ’, उनी भन्छन्, ‘विश्वको औषत तापमान १ दशमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलब ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ।’
जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ। विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँले बताउनुभयो। अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने बताइन्छ।
विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको छ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया