सोमबार, वैशाख ७, २०८३

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला

मेरोन्यूज २०८१ माघ ३० गते १२:३०

तुलसीपुर। सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ । जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

स्थानीय प्रविर पुनका अनुसार यो बर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ । “यो वर्ष भाउ कम भए पनि उत्पादन राम्रो भयो”, उनले भने, “गाउँबाट करिब डेढसय क्विन्टलभन्दा बढी बिक्री ग¥यौँ ।” यो वर्ष पाँचसयदेखि छ सयसम्ममा मालागिरि बिक्री भएको उनको भनाइ छ । पुनले मात्रै चार क्विन्टल बढी बिक्री गरेको बताए ।

छिल्लीकोटमा आम्दानीको मुख्य स्रोत बनेको मालागिरिलाई संरक्षण गर्न प्रत्येक घर एक सयभन्दा बढी बिरुवा रोपिएको उनले बताए । त्यति मात्रै नभई बाहिरी जिल्लामा पनि यसको माग बढेको छ । अहिलेसम्म २६ जिल्लामा निर्यात गरिएको स्थानीय पुनले बताए । “विश्वमै लोपोन्मुख रहेको यो विरुवा छिल्लीकोटमा पाइन्छ, भनेपछि धेरै जना आएर बीउ लिएर जाने गर्नुभएको छ”, उनले भने, “अहिलेसम्म नेपालका २६ जिल्लामा निर्यात भइसकेको छ ।”

सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के बन्छ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए ।

“यहाँबाट हामीले कच्चा पदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”, उनले भने, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।” एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ ।

लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिलालाई सरकारले संरक्षणमा ध्यान दिनुपर्ने उनको माग छ । “पहिले–पहिलेका रुख पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ”, उनले भने, “यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।”

पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको रेउलेको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पीपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमासमेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको दूरीमा हिमालको हावा बहने जङ्गलमा फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो । अहिले जङ्गलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयवासीको भनाइ थियो ।

मल्लागिरिको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरबत्ती निर्माणका लागि प्रयोग गरिन्छ, भने मल्लागिरिको गेँडाबाट तेल बनाउन प्रयोग हुन्छ । कहिलेकाहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने माग समेत राखेका छन् । 

प्रतिक्रिया