छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

मध्यविन्दु (नवलपरासी) ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।
त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छन् । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै ।
लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकि छिन् ।
शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात प¥यो”, उनले भने, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”
तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्। “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उनले भनीन्, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”
सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन् । “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ ।
मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उनले भनीन् । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए।
“शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उनले भने, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”
सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया