बिहीबार, पुष ३, २०८२

कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

मेरोन्यूज २०८१ फागुन १० गते १२:४४

विराटनगर। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही ७ फागुनमा विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ विषयक कार्यशाला सम्पन्न गरेको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।

प्रदेशस्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुत बनाउने उद्देश्यअनुरुप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नबिल एसएसईबारे जानकारी गराए । उनले भने, ‘बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुवात गरेको हो, यो समाजप्रति उत्तरदायित्व वहन गर्ने एक माध्यम पनि हो ।’ उनले यस कार्यक्रममा सहभागीहरूलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।

सो अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । अन्तर्क्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवर्द्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवर्द्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको उनले बताए । ‘बैंकहरूले मात्रै होइन, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूले पनि व्यवसायलाई दिगो बनाउन आवश्यक छ, यसले जनजीवन र वातावरणको हितमा सहयोग गर्छ,’ उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा रोजगारी तथा नयाँ  व्यवसाय सिर्जना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी पनि दिए ।

नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नवउद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया